धनगढी । एमाले अध्यक्ष ओलीले आफूलाई हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरेर हस्ताक्षर गर्ने र अदालत जाने १० जनाले उम्मेदवार हुने हो भने आत्मालोचना गर्नुपर्छ भन्ने धारणा राखेको चर्चा भइरहेको बेला सो पार्टीका नेता डा. भीमबहादुर रावलले आफूले आत्मालोचना नगर्ने बताएका छन् ।
नेता रावलले भने,'तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बिघटन गरेको संसद् पुनर्स्थापनाका लागि आफूहरूले गरेका क्रियाकलापका लागि कुनै पनि खालको आत्मालोचना गरिन्न ।'
डा. रावलले धेरै टेलिभिजनसँगको अन्तर्वार्तामा पनि आफूले आत्मालोचना नगर्ने बताएको प्रसङ्ग उल्लेख गर्दे भने अहिले पनि म त्यही कुरामा अडिग छु ।
अछाममा चुनाव लड्नुहुन्छ त भन्ने प्रश्नमा डा. रावलले भने, 'म चुनाव लड्न तयार छु यो कुरा धेरै ठाउँमा भनिसकेको छु तर हाम्रा नेताहरूका कुरा सुन्नु भएकै छ, हेर्दे जाऊँ के गर्नुहुन्छ ।' अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि डा। रावलको एकल नाम सिफारिस भएका छ ।
डा. रावल एक साता अछाम बसेर आज काठमाडौँ फर्किएका हुन । अछाममा उनले एमाले कार्यकर्तासँग भेटघाट र छलफल पनि गरेका थिए । नेता रावल गत निर्वाचनमा समेत अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । ०४८ र ०५६ सालमा सो क्षेत्रमा पराजित रावल ०५१, ०७० र ०७४ को चुनावमा विजयी भएका थिए । ०६४ सालमा पनि उनी संविधान सभाको समानुपातिकतर्फको सभासद् थिए ।