काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छन् । अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे।
उनले भने, ‘जलवायु परिवर्तनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ ।’ मन्त्री यादले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराए।
उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रुपमा कार्यान्वयन गरिरहेको जानकारी दिए। उनले सन् २०२१ मा नेपालले नेट शून्य उत्सर्जनका लागि दीर्घकालीन रणनीति विकास गरेको हुँदा यसको माध्यमबाट २०३० सम्ममा अत्यन्त न्यून उत्सर्जन र २०४५ सम्ममा पूर्ण शून्य उत्सर्जन हासिल गर्ने प्रयास गरेको जानकारी गराए ।
मन्त्री यादवले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र पहिले नै तापमान र वर्षामा विश्वव्यापी औसत भन्दा धेरै छिटो दरमा परिवर्तन अनुभव गरिसकेकाले भौगोलिक रुपमा नेपालका हिमालमा द्रुत हिउँ र बरफ पग्लने र मनसुनको समयमा पहाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिमको दायरामा परेको बताए। सन् २०२० मा नेपालले पेरिस जलवायु सम्झौतालाई अनुमोदन गर्नुका साथै र उत्सर्जन घटाउने देशको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले दोस्रो एनडिसी पेस गरेको जानकारी गराए ।
यसैगरी उनले नेपालले वित्तीय स्रोत, उन्नत प्रविधि र उच्च दक्षजनशक्तिको माग गर्दै आएको र नेपालका साझेदारहरुलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगबिना नेपालले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसक्ने समेत स्पष्ट पारे ।
नेपालको दीर्घकालीन रणनीतिले कार्बन तटस्थ, समावेशी र जलवायु अनुकूल भविष्यतर्फ साहसी नीति निर्माण, सामाजिक रूपान्तरण र प्राविधिक विकासको परिकल्पना गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जलवायु परिवर्तन नीति र ‘एजेन्डा’ मा काम गर्न आवश्यक संस्थागत क्षमता तयार गरिरहेको उनले जिकिर गरे ।