काठमाडौँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आफू पार्टी सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन्।
रावलको भूमिकालाई लिएर सुदूरपश्चिम प्रदेशकै एमाले नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन्।
गत भदौ १९ गते बसेको एमाले अछामको बैठकले प्रतिनिधिसभातर्फत क्षेत्र नम्बर १ मा रावललाई उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको थियो।
संसददेखि अन्य सार्वजनिक कार्यक्रममा पनि पार्टीसँग सल्लाह नगरी एक्लै अघि बढेको आरोप खेपिरहेका उनको नाम उम्मेदवारका रुपमा जिल्लाले सर्वसम्मत सिफारिस गरेपछि अध्यक्ष ओलीले पनि चासो राखेका थिए।
अछाम क्षेत्र नम्बर १ का लागि एमालेबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका रावलले लेखेका छन्, 'म पार्टीको सम्पर्कमा नरहेकोु भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो।म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ।यो बारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ।म सम्पर्कविहीन भन्नु हास्यास्पद ।'
नेकपा एमालेको दशौँ महाधिवेशनका ओलीलाई सर्वसम्मत अध्यक्ष हुनबाट रोकेका रावल त्यसपछि एमाले केन्द्रको भूमिकामा छैनन्। पार्टीले दिएको जिम्मेवारी पनि आफूले नलिने बताउँदै उनले साधारण कार्यकर्ताका रुपमा सक्रिय रहने जवाफ त्यसबेला दिएका थिए।
