वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास गरिएको छ। १०/१२ जनाको सङ्ख्यामा रहेका समूहले आइतबार वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किँदै गर्दा यादवमाथि आक्रमणको प्रयास गरेका हुन् ।
अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक उमेश बस्नेतले भने घटनामा संलग्न रहेको आशङ्कामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिँदै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।