काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको कार्यदल आजदेखि प्रदेशसभा तर्फको सिट बाँडफाँटमा जुट्ने भएको छ।
प्रदेशसभा तर्फको सिट बाँडफाँटमा छलफल गर्न कार्यदलको बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदल सदस्य हिमलाल पुरीले जानकारी दिए।
गठबन्धनमा प्रतिनिधिसभाकै सिट बाँडफाँटको अन्तिम टुंगो लागिसकेको छैन। गठबन्धनका नेताहरुले १ सय ६५ सिटमा ८० प्रतिशत टुंगो लागिसकेको र बाँकी क्षेत्रमा केही दिनभित्र टुंगो लाग्ने बताएका छन्।
हिजो दिउँसो बालुवाटारमा बसेको बैठकले टुंगो लाग्न बाँकी क्षेत्रको जिम्मा शीर्ष नेताहरुलाई दिँदै प्रदेशतर्फको बाँडफाँटमा प्रवेश गर्ने निर्णय गरेको थियो।
प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० सिट छन्। गत साउन २० गते सत्तारुढ पाँच दलका ११ सदस्य समावेश गरेर गठन गरिएको कार्यदल निरन्तर छलफलमा छ। तर, सबैजसो दलको महत्वाकांक्षी दाबीले बाँडफाँटको टुंगो लागिरहेको छैन।