काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनीबाट संविधानको पालना हुन नसकेको बताएकी छन् । मध्यपुर थिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभामा आज उनले संवैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने धारणा राखे ।
मन्त्री भुसालले भनिन्, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुईपटक संसद् भङ्ग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेल्नुभएको छ ।” मङ्सिर ४ गतेको निर्वाचन रोकेर देशलाई सङ्कटतर्फ धकेल्न त खोजिएको होइन भन्ने आशङ्का पैदा भएको भन्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सचेत हुने बेला आएको बताइन् । विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरेअनुरुप नै आएको नागरिकता विधेयक दुवै संसदबाट पारित गरेको भन्दै मन्त्री भुसालले नागरिकता विधेयकका विषयमा भ्रममा नपर्न आग्रह गरिन् ।
संविधानअनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुवै संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर भ्रम फैलाउन खोजिरहेको भन्दै उनले राष्ट्रपति जस्तो सम्मानित संस्थाले जनताको आकांक्षालाई पूरा गर्नुपर्नेमा जोड दिइन् । नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन हुँदा स्कुल–कलेज पढ्न, बैंकमा खाता खोल्न, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको मन्त्री भुसालको भनाइ छ ।
उनले भनिन्, “सायद पहिलो चोटी भएर हो कि, अज्ञानताले हो कि, अथवा अरु कुनै दबाब वा निहित स्वार्थले हो राष्ट्रपतिबाट गलत भएको छ, अब फेरि कुनै राजनीतिक दुर्घटना नहोस् भन्नका लागि परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवी, सचेत नागरिक, सबैले चनाखो भएर सचेत हुने बेला आएको छ ।”
कार्यक्रममा उनले घरको भान्छामा इन्डक्सन चुल्हो बाल्नुस्, विदेशी ग्यास हटाउनुस् भन्दै इन्डक्सन चुल्हो बाल्न प्रेरित गर्न घरेलु उपभोक्ताका लागि विद्युत् महसुल घटाएको बताइन् ।