धनुषा। नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र नं. २ मा पर्ने विदेह नगरपालिकामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जानेक्रममा उनले नेपालको एक मात्र जनकपुर–जयनगर रेल चढेर यात्रा गरेका हुन्।
पूर्व प्रधानमन्त्री ओली नेतृत्वको सरकारले धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि रेलको दुई वटा इन्जिनसहितको वोगी भारतबाट खरिद गरेको थियो ।
पूर्व प्रधानमन्त्री ओली धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन तेस्रो स्टोपिज महिनाथपुरसम्मको यात्रा गरे।
जनकपुरधामको रेल्वे स्टेसनमा पूर्व प्रधानमन्त्री ओलीलाई रेल्वेका महाप्रबन्धक निरञ्जन झासहितका रेल्वेका कर्मचारीहरूले स्वागत गरे।
अहिले जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन भइरहेको छ ।
कालो झण्डा प्रदर्शन
यता जनकपुर विमानस्थलबाट जनकपुरधामको रेल्वे स्टेसनमा रेल चढ्न गएको वेला रेल्वे स्टेसन नजिक जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरूले नागरिकता विधेयकमा एमालेले सहयोग नगरेको भन्दै कालो झण्डासहित प्रदर्शन गरे।
मधेशीलाई नागरिकताबाट वञ्चित गरेको भन्दै कालो झण्डा देखाएको सो दलका कार्यकर्ताहरूको भनाइ छ। कालो झण्डा देखाउनेलाई प्रहरीले किनारा लगाएको थियो।