बर्दिबास। महोत्तरीको दक्षिणवर्ती मटिहानी नगरपालिकामा एक महिलाको रहस्यमय मृत्यु भएको छ ।
घाँस काट्न गएकी मटिहानी १ धिरापुरकी ४० वर्षिया अमना खातुनको शव मृत अवस्थामा फेला परेको हो । मृतकको शव गाउँदेखि करिब एक किमी पूर्व बिगही खोलाको खोइर भन्ने ठाउँको बाँसघारीमा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
मृतकको शरीरका अङ्गहरुबाट रक्तश्राव देखिएकोले हत्या गरेर मारेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्देश्वर यादवका अनुसार शुक्रबार रातको बीचमा शव फेला परेकोले घटनाबारे अनुसन्धानपछि सत्यतथ्य खुल्ने बताए।
पारिवारिक स्रोतका अनुसार शुक्रवार अपरान्हतिर घरबाट घाँस काट्न मेलापात गएकी अमना घाम डुब्न लाग्दासमेत नफर्केपछि ससुरा नथुनी अनसारीले धिरापुरस्थित प्रहरी चौकीमा जानकारी गराइएको थियो।
हत्याको कारण खुल्न सकेको छैन । उनका श्रीमान मो अनसारुल अन्सारी वैदेशिक रोजगारीका लागि केही समयदेखि कतारमा रहेको परिवारले जनाएको छ।