काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताएका छन् ।
डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भने, ‘सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सकेमा अझ बढी प्रभावकारी हुने हाम्रो बुझाइ छ । सोहीअनुसार नियन्त्रणका लागि अगाडि बढेका छौँ ।’
प्रत्येक शनिबारको बिहान उक्त अभियान सञ्चालन गर्न आमनागरिकलाई पनि आह्वान गर्दै आएको उनले सुनाए। ‘आफ्नो घर, छर-छिमेक, गमला, खाल्डाखुल्डी, पानी जमेका ठाउँ खोजेर नष्ट गर्ने अभियानमा सहभागिता जनाउन मन्त्रालयबाट सम्पूर्णलाई आह्वान गरिएको छ’, उनले भने ।
डेङ्गु नियन्त्रणका लागि विद्यालय, होटल एशोसिएसनसँग छलफल गरेर अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।