काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न ७ बुँदे मागसहित ९ दिनयता अनशनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भएपनि निष्कर्ष भने ननिस्किएको डा केसीको तर्फबाट वार्ता टोली सदस्य प्रितम सुवेदीले जानकारी दिए।
वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव डा रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा रोशन पोखरेल र शिक्षासविच रामकृष्ण सुवेदी सहभागी थिए। नेपाल मेडिकल एसोसिएसनबाट डा. अनिलविक्रम कार्की सहभागी थिए।
डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल, डा. विष्णु पोखरेल थिए। अर्को वार्ता बुधबार पनि हुनेछ। यसअघि आइतबार र सोमबार भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो।