अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका –५ नाडा, कमलबजार नगरपालिका –६ वीरपथ र वडा ८ डुँगालाका मृतक र घाइतेका आफन्त घटनास्थलमै पुगेर निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मृतकका परिवारलाई मन्त्री कुँवरले प्रतिव्यक्ति १० हजार रुपियाँ समेत आफन्तलाई प्रदान गरे । यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले मृतकका आफन्तलाई प्रतिपरिवार एक लाख रुपियाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए।
मन्त्री कुँवरले पहिरोबाट पीडित क्षेत्रका बासिन्दाका लागि आवश्यक त्रिपाल, कम्बल समेत वितरण गरिएको छ । पीडित पक्षसँगको भेटका क्रममा मन्त्री कुँवरले सरकारले खाद्यान्न लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री कुँवरसँगै सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारी, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीसहितको टोलीले पहिरोमा पुरिएर मृत्यु भएका स्थानको निरीक्षण गरे। गत शुक्रबार राति घरमाथिबाट आएको पहिरोमा परेर अछामका तीन स्थानीय तहका चार स्थानमा घर भत्किँदा २३ जनाको मृत्यु भएको थियो ।