धनगढी। कैलालीको भजनी नगरपालिकामा साढे छ सयभन्दा बढी घर डुबानमा परेको छ ।
सुदूरपश्चिममा तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा बाढी आइ भजनी नगरपालिकामा डुबान भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुबानमा परेको हो ।
सो पालिकाको अन्य वडामा पनि डुबान भएको छ । त्यसको विवरण आउन बाँकी रहेको जनाइएको छ । कान्द्रा, पथरैया नदीमा आएको बाढीले डुबान भएको हो ।
घरमा पानी पसे पनि मानवीय र पशुचौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा प्रहरी टोली खटाइएको छ ।