काठमाडौँ । भोली शनिबारदेखि सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।
यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शनिबार बिहानदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ने जानकारी दिए ।