काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ।
शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो।
त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा घटेको छ। अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ।
हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।
भारतबाट पेट्रोलको मूल्य घटेर आएपछि नेपालमा घटनेबारे निगमले केही जानकारी दिएको छैन। निगमले सञ्चित घाटा देखाउँदै मूल्य घटेर आउँदा पनि समायोजनमा बेवास्ता गर्ने गरेको छ भने बढेर आउँदा बढाउने गरेको छ।