रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले देउखुरीमा स्थायी राजधानी स्थापना गरेरै छाड्ने बताएका छन् ।
सार्वजनिक लेखा समितिले आयोजना गरेको अन्तक्र्रियामा उनले लुम्बिनी प्रदेशको राजधानी प्रदेशसभाबाट नै पारित भइसकेकाले यही सरकारले देउखुरी उपत्यकामा लगेरै स्थापना गर्ने बताए ।
लुम्बिनी प्रदेशमा संविधानले प्रदान गरेको अधिकारअनुसार मन्त्रालयको सङ्ख्या विशेष परिस्थितिमा बढाएको भए पनि आफूले हस्तान्तरण गर्दा कमभन्दा कम मन्त्रालय बनाएर जाने योजना रहेको उनले सुनाए ।
मुख्यमन्त्री केसीले केही सांसद र सरोकारवालाले राजधानी सार्नका लागि हतार नगर्न सरकारलाई सुझाव दिएको भन्दै उनले प्रदेशसभाबाटै पारित भएकाले दायाँ वायाँ गर्न नमिल्ने स्पष्ट पारे ।
राजधानीका लागि आधारभूत संरचना निर्माण भइसकेको जनाउँदै उनले प्रदेशसभा भवन बनिसकेको प्रशासनिक भवन पनि निर्माणको चरणमा रहेको बताए ।