काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ।
मंगलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा प्रचण्ड र चान्शुबीच भेटवार्ता भएको हो। भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
चान्शुले त्यसअघि मंगलबार बिहान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
चान्शुले मंगलबार दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्का र ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
बुधबार बिहान भक्तपुर भ्रमण गन उनले अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्।
राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी अग्नि सापकोटासँग पुनः भेट गरेर बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ।
सोमबार नेपाल आएका उनले सोमबार सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट तथा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षर गरेका थिए।