काठमाडौं। चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु काठमाडौं पुगेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणामा उनी सोमबार अपराह्न काठमाडौं पुगेका हुन्। चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरे।
.jpg)
चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र लीको भ्रमणमा सरकारले सुरक्षाको विशेष व्यवस्था मिलाएको छ। तिब्बती शरणार्थीले गर्न सक्ने विरोधलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।
चीनका राष्ट्रपति सीले सीपीसीको २० औं जनकंग्रेसअघि लीलाई नेपाल भ्रमणमा पठाएका हुन्। रुस, मंगोलिया हुँदै नेपाल आएका उनी नेपालबाट दक्षिण कोरिया हुँदै चीन फर्कने कार्यक्रम रहेको छ।
के छ भ्रमण कार्यतालिका ?
उनी विमानस्थलबाट सिधै सोल्टी होटल गएका छन्।
उनले आजै सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट गर्नेछन्। द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ।
सभामुख सापकोटाले समकक्षी लीका लागि आज उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन्।
मंगलबार बिहान ९ बजे लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग संसद भवन नयाँ बानेश्वरमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उनले संसद भवनमा नै नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
उनले मंगलबार दिउँसो ३ बजेदेखि परराष्ट्रमन्त्री नारायण खड्का र ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
बुधबार बिहान भक्तपुर भ्रमण गन उनले अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्। राष्ट्रपतिसँगको भेटपछि संसद भवनमा समकक्षी सापकोटासँग पुनः भेट गरेर बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ।