काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामूदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
बाघले खाएको अवस्थामा अधिकारीको शवलाई प्रहरीले आज बिहान साढे ८ बजे जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
शनिबारकरिब १ बजेको समयमा अधिकारी र उनको छोरा २५ वर्षीय होम बहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए। छोराले आफुले भैंसी चराएर आउने भनि बुबालाई घर पठाएका थिए। त्यसपछि घर फर्किएका सूर्यनाथ बाटो बाटै बेपत्ता भएका थिए।
छोरा होमबहादुर साँझ भैंसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो।
खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटो समेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनि आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए। जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो।