धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नीपीडित मुक्त कमैयाले सुरक्षित आवास पाउने भएका छन् ।
पूर्ण रुपमा घर जलेर नष्ट भएका २७ परिवारका लागि सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक र ह्याबिट्याट नेपालको प्राविधिक सहयोगमा पीडितका लागि नयाँ घर बन्ने भएको हो ।
नयाँ घर निर्माणका लागि घर नक्सा, घरको मोडल तयार र जग्गाको नापजोख भइसकेको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले जानकारी दिए । उनका अनुसार निर्माण हुने घरको मापदण्डका लागि नक्सा गाउँपालिकाको कार्यालयबाट पास गराउनु पर्नेछ ।
गत वैशाख ११ गते भीषण आगलागी हुँदा मुक्त कमैयाहरुको घर, धनसम्पत्ती पूर्ण रुपमा जलेको थियो । घर पूर्ण रुपमा जलेका परिवार टेन्टमा बस्दै आएका छन् ।
पीडितहरुको घर निर्माणको प्रक्रिया अगाडि बढिसकेको ह्याबिट्याट नेपालका कार्यक्रम संयोजक राममनि चौधरीले जानकारी दिए । ‘दशैं अगाडिबाटै निर्माणको काम सुरु गर्ने सोंच बनाएका छौं’, उनले भने,‘घर निर्माणको लामिग बेसलाइन सर्भे गरिसकेका छौं ।’
संयोजक चौधरीका अनुसार अग्नीपीडित मुक्त कमैयाहरुका लागि निर्माण हुने घर बरण्डासहित दुई कोठाको हुनेछ । जसमा जोडिएको एउटा भन्सा र चर्पी पनि हुनेछ । घरको कोठाको साइज १० बाई १२ को रहने जनाइएको छ । घर पर्खाल पीभीसी ब्लकको रहने र घरमा जस्ताको छाना रहने चौधरीले बताए । कैलारी गाउँपालिकाको समन्वयमा अग्नीपीडित मुक्त कमैयाको सुरक्षित आवास निर्माण हुने जनाइएको छ ।