काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतंक बन्द हुनुपर्ने बताएका छन् ।
पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनाश गर्नुका साथै ठाउँ-ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताए ।
उनले भने, ‘सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनाश हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।’ यसैगरी उनले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनाश निम्त्याएको उल्लेख गरे ।
यसैगरी उनले विकास र वातावरण एक आपसका प्रतिद्वन्द्वी नभइ परिपूरक भएकाले दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने धारणा राखे ।