काठमाडौँ । सिराहाको लहान नगरपालिकाका उपमेयरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि सम्पर्कविहीन भएका उपमेयर रामचलितर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफ्ना कानुन व्यवसायी र पार्टीका नेता कार्यकर्ताहरुसहित शुक्रबार दिउँसो करिब सवा तीन बजे इलाका प्रहरी कार्यालयमा हाजिर भएका उपमेयर महतोले दिएको निवेदन दर्तालगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ।
महतोको स्वास्थ्य परीक्षणपछि शनिबारसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आइतबार सिराहा जिल्ला अदालतमा पेश गरिने लहान प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताए।
जागिर लगाइदिन्छु भन्दै गत १९ जेठमा आफ्नो कार्यकक्षमा बोलाएर बलात्कार प्रयास गरेको भन्दै लहानकी २१ वर्षीया महिलाले ४ साउनमा किटानी जाहेरी दिएपछि उपमेयर महतो सम्पर्कविहीन भएका थिए। सम्पर्कविहिन भएको ५१औं दिनमा उनी स्वयं प्रहरीमा हाजिर भएका हुन्।