काठमाडौँ । सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ।
बैठक दिउँसो ३ बजे बस्ने तयारी रहेको कार्यदलका सदस्यसमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। कार्यदलले हिजो अपूरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ।
गत साउन २० गते सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको थियो। एक महिना लामो छलफलमा पनि कार्यदल टुंगोमा नपुगेपछि कार्यदलले अपुरो प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको हो।
प्रतिनिधिसभातर्फ १६५ मध्ये करिब ९० सिटमा सहमति जुटाएको कार्यदलले ७५ सिटमा सहमति खोज्ने जिम्मा शीर्ष नेतालाई नै सुम्पिएको छ। एउटै निर्वाचन क्षेत्रमा गठबन्धनका सबैजसो दलको दाबी भएपछि कार्यदलले पूर्ण सहमति गर्न नसकेको हो।
हिजै शीर्ष नेताको बैठक बस्ने भनिए पनि अन्तिममा नेताहरुको व्यस्तता भन्दै बैठक बस्न सकेको थिएन। गठबन्धनभित्र सिट बाँडफाँटको रस्साकस्सीसँगै असन्तुष्टि पनि चुलिएको छ।
पछिल्लो पटक जनता समाजवादी पार्टी जसपाले ३२ सिट नपाए गठबन्धनमा बसिरहन बाध्य नहुन चेतावनी दिएको छ। नेकपा एकीकृत समाजवादीले पनि सम्मानजनक सिट बाँडफाँट नहुने भए गठबन्धनबाट बाहिरिन सक्ने भन्दै आएको छ।
कांग्रेसभित्रै सभापति शेरबहादुर देउवालाई १ सय सिटबाट तल झर्न नहुने दबाब शेखर कोइराला समूहले दिइरहेको छ। शीर्ष नेताले सम्मानजनक सिट बाँडफाँटको निकास निकाल्ने मन्त्री कार्कीको विश्वास छ।