काठमाडौँ । म्याद थपका लागि अदालत लगिएका एकजना बन्दी जिल्ला अदालत दाङ परिसरबाट भागेका छन् ।
सुन चोरी आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा भागेको प्रहरीले जनाएको छ ।
शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको प्रहरीले जनाएको छ ।
बिहीबार न्यायाधीश समक्ष पेश गर्दा हतकडी खोलेको अवसर पारी शौचालय गएका उनी चर्पीको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमले बताए ।
फरार बन्दीको खोजी भइरहेको डीएसपी गौतमले जानकारी दिए । उनलाई बुधवार मात्रै प्रहरीले पक्राउ गरेको थियो ।