काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरीसहित १० वटा निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ।
बिहीबार महानगरका विभागीय प्रमुख डा. शिवराज अधिकारीले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्सहित १० निकायले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको भन्दै बहाल कर बुझाउन अनुरोध गरेका छन्।
महानगरले पटक–पटक पत्र लेखी कर बुझाउन ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर र सो को जरिवानासहित बुझाउन प्रमुख अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ।
अन्यथा, राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले जनाएको छ।
काठमाडौं महानगरले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, समाज कल्याण परिषद् लैनचौर, शङ्करदेव क्याम्पस, आर.आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रङ्गशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई बहाल कर तिर्न पत्राचार गरेको छ।

