धनगढी । सडक दुर्घटना कम गर्न सुदूरपश्चिम प्रदेशमा ‘टाइम कार्ड’ (निश्चित समय) लागू गरिएको छ।डडेल्धुरादेखि तराइका दुई जिल्ला कैलाली र कञ्चनपुर जाँदा र कैलाली र कञ्चनपुरबाट डडेल्धुरा आउने सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू भएको हो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रवीण धितालका अनुसार डडेल्धुरादेखि अत्तरिया र डडेल्धुरादेखि महेन्द्रनगर सवारी साधन सञ्चालन गर्नका लागि टाइम कार्ड लागू गरिएको हो।
डडेल्धुरादेखि अत्तरियासम्म ४ घण्टा १५ मिनेट र डडेल्धुरादेखि महेन्द्रनगरसम्म सवारी चलाउँदा ५ घण्टा १५ मिनेट समय निर्धारण गरिएको एसपी धितालले बताए। यस्तै डडेल्धुरामा बुधबार एक कार्यक्रमका बिच टाइम कार्डको सुरुवात गरिएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सवारी चालकलाई कार्ड वितरण गर्दै टाइम कार्डको सुरुवात गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले चाडपर्वमा हुने दुर्घटना न्यूनीकरण र चालकबिच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि टाइम कार्ड सुरु गरिएको बताए। बस, जीप लगायत यात्रुवाहक सवारी साधनमा टाइम कार्ड लागू हुनेछ।