काठमाडौँ । आज चेपाङ समुदायले न्वागी पर्व मनाउँदै छन् । चेपाङ समुदायको प्रमुख धार्मिक पर्वको रूपमा मनाइने छोनाम अर्थात न्वाँगी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।
आफ्नो जातीय पहिचान बोकेको यो पर्वमा सार्वजनिक बिदाको माग गर्दै आएका चेपाङ समुदायको आवाजलाई सम्मान गर्दै बागमती प्रदेश सरकारले आज सार्जनिक बिदा दिएको हो । बागमती प्रदेशको ३ जिल्लामा मात्रै लागू हुने गरी पहिलो पटक प्रदेश सरकारले बिदा दिएको हो ।
नेपाल चेपाङ संघको माग अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत ९ गते प्रदेशको चेपाङ बाहुल्यता रहेको मकवानपुर, चितवन र धादिङमा प्रत्येक वर्षको भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
विगत वर्षमा झै चेपाङ संघले आज बुधबार चितवनमा सामूहिक रुपमा न्वाँगी पर्व मनाउँदै छ । तत्कालीन संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका पूर्वअध्यक्ष गोविन्दराम चेपाङले पर्वको सबै तयारी पुरा भएको बताए । विगत ७ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिक रुपमा न्वाँगी मनाउँदै आएका छन् ।
यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरू भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् । यो दिन उनीहरूले कुखुराका बली समेत दिने गर्छन् ।
दिउँसोदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्रीद्वारा पितृ पूजा रातभरि गरेपछि भोलि ‘बारना’ गरेर चाड समापन गरिँदैछ ।