काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्।
मंगलबार दिउँसो बालुवाटार पुगेर भारतीय स्थल सेनाध्यक्ष जनरल पाण्डेले रक्षामन्त्रीसमेत रहेको प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार आएका थिए।
उनलाई नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्।
उनले आज साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ। साथै, बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्नेछन्।
बिहीबार नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उनी स्वदेश फर्कनेछन्।