काठमाडौं। राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी छन्।
मङ्गलबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताइन्।
सांसद पौड्यालले भनिन्, ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अङ्गहरु जनताका सेवक हुन्। शासन होइनन्। दुईदिन अगाडि मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ। उहाँले यसमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ।’
उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन्। यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उनले सरकारको ध्यानाकर्षण पनि गराइन्।
उनले भनिन्, ‘राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ। तर सार्वजनिक रुपमा माफी माग्नुपर्छ।’