काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको बताए । उनलाई साधारण तारेखमा रिहा गरिएको प्रजिअ रिजालले बताए ।
सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ । तर, त्यसअघि नै गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो ।