डोटी । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको दिपायलमा जहाज नियमित सञ्चालन हुने बताएका छन् ।
आज सोमवार डोटीको दिपायल विमानस्थलको ट्रमिनल भवनको शिलान्यास गर्दै निवर्तमान मन्त्री आलेले दिपायलमा जहाज नियमित सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिने बताए ।
जहाज नआउँदा लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थलमा मैले पर्यटनमन्त्री हुँदा हप्तामा दुई पटक भए पनि जहाज सञ्चालन गराउन सफल भएको छु, अब जहाज नियमित सञ्चालन गराउँछु , उनले भने ।
उनले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विमानस्थलहरूको स्तरोन्नतिसहित नियमित सञ्चालन गरी यहाँका नागरिकलाई सङ्घीय राजधानी काठमाण्डौसँग सिधा हवाई सम्पर्कमा जोड्ने आफ्नो लक्ष रहेकाले त्यसमा लागिपरेको बताए ।
यसैगरी उनले कैलालीको धनगढीमा रहेको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि आफूले बजेट विनियोजन गराएको र काम सुरु भएको पनि जानकारी दिए। निवर्तमान मन्त्री आलेले डोटीसहित समग्र सुदूरपश्चिमको विकासका लागि आफू अहोरात्र खटिरहेको दाबी गरे ।
उनले दिपायल विमानस्थलमा जहाज नियमित सञ्चालन भए यहाँका बडीमालिका, खप्तड, बडीकेदार, रामारोशन लगायतका पर्यटकीय तथा धार्मिक क्षेत्रहरूमा पर्यटकको आवागमन बढ्ने र पहाडी जिल्लाका नागरिकको आयस्तरमा वृद्धि हुने बताए ।