धनगढी। नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी सचिव लेखराज भट्टलाई सिफारिस गरेको छ ।
क्षेत्र नं.४ को क्षेत्रीय समन्वय समितिको आइतबार बसेको बैठकले भट्टलाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक हितेश ओझाले जानकारी दिए ।
कैलाली क्षेत्र नम्बर ४ भट्टले तीन पटक जित्दै आएको क्षेत्र हो । तीन पटक भट्टले यस क्षेत्रबाट माओवादीमा हुँदा जितेका हुन । एमालेमा प्रवेश गरेपछि यो निर्वाचन उनको पहिलो लडाई हुनेछ ।
यस्तै कैलाली क्षेत्र नम्बर ५ का लागी वर्तमान प्रतिनिधिसभा सदस्य तथा एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानाको नाम सिफारिस गरेको छ ।एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले रानालाई प्रतिनिधिसभाका लागी एकल सिफारिस गरेको हो ।
यस्तै प्रदेश सभा क मा नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकी सिफारिस गरेको छ । उनीहरूलाई प्रदेश निर्वाचन समन्वय कमिटीले सिफारिस गरेर जिल्ला कमिटीमा पठाएको हो । त्यस्तै प्रदेश ख भने दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुङ्गाना, चूडामणि भट्ट र सानु साउँद सिफारिस भएका छन् ।
यता काँग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहेकी देउवाको नाम कैलाली ५ बाट एकल सिफारिसमा गरिसकेको छ ।
राणा ०७४ को निर्वाचनमा पनि क्षेत्र नम्बर ५ बाटै उम्मेदवार थिइन् ।उनी वाम गठबन्धनका नारदमुनि रानासँग ५ हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।