काठमाडौँ । जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे-फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ ।
शे-फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ ।
जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे-फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तर्क्रिया हुने साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।
फाउण्डेसनले जारी गरेको विज्ञप्तिअनुसार शे फोक्सुण्डोमा ‘हिमालबाट महिलाको आवाज, जलवायु न्यायका लागि महिला एकता र प्रकृतिमा आधारित पर्यटनको विकास’ शीर्षकमा विशेष अन्तर्क्रिया हुनेछ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्यापर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने भएका हुन् ।
अध्यक्ष कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्न र त्यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शे- फुक्सुण्डो पदयात्राको तयारी गरेको जानकारी दिए।
एक साता लामो हुने पदयात्रामा समाजका विभिन्न क्षेत्रका अगुवा महिलाका साथै सङ्घीय, प्रदेश र स्थानीय सरकारका विभिन्न तहका सम्बद्ध अधिकारी, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता हुनेछ ।