धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन (बर्खे) शुक्रवारदेखि अन्त्य भएको छ । पहिलो प्रदेश सभाको कार्यकालको यो अन्तिम अधिवेशन पनि हो ।प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको सिफारिस बमोजिम चालू बर्खे अधिवेशन शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी अन्त्यको आह्वान गरेका थिए ।
प्रदेश सभाको आज शुक्रवारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको अधिवेशन अन्त्य सम्बन्धी पत्रबमोजिम राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरे । प्रदेश सभाको पाँच वर्षे कार्यकाल आगामी मङ्सिरमा समाप्त हुँदैछ
गत जेठ १६ गतेदेखि प्रदेश सभाको दशौं अधिवेशन सुरु भएको थियो । बर्खे अधिवेशनमा २७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार पाँच वर्षे कार्यकालमा प्रदेश सभाले संशोधन विधेयकसहित ६७ वटा विधेयक पारित गरेको छ ।
प्रदेश सभाले २०७५ सालमा नै प्रदेशको नामाकरण सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिका, तेघरीमा राख्ने प्रस्ताव पारित गरे पनि पाँच वर्षे कार्यकालमा राजधानी निर्माणको प्रक्रिया नै अघि बढ्न सकेन ।
बर्खे अधिवेशनको अन्तिम दिन आज शुक्रवार प्रदेश सभा सचिवालयले “प्रदेश सभाको पाँच वर्षे कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम” आयोजना गरेको छ । प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, मन्त्री तथा राज्यमन्त्रीहरू, प्रदेश सभा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।