काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूका समस्या र चुनौतीहरूको समाधान गर्दै पठनपाठनको उत्कृष्ट थलो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा आज आयोजित वाणिज्य दिवस तथा शंकरदेव क्याम्पसको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न त्यहाँका समस्या सम्बन्धित पक्षसँग वार्ता गरी समाधान गर्न आग्रह गरे।
उनले शंकरदेव क्याम्पसले स्थापनाकालदेखि नै व्यवस्थापन विद्यामा सक्षम जनशक्ति उत्पादन गरिरहेकोले त्यहाँबाट उत्पादन भएका जनशक्तिले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निभाइरहेको बताए।
कार्यक्रममा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा ताला नलगाउन आग्रह गरे।
समस्याको लोकतान्त्रिक पद्धतिद्वारा समाधान गर्दै पठनपाठनलाई अगाडि बढाउने र तालामुक्त विश्वविद्यालय अभियानको सङ्कल्प गर्नुपर्ने उनले बताए।