काठमाडौँ । पुर्पक्षका लागि जेलमा रहेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।
कांग्रेस रौतहट क्षेत्र नम्बर–२ समितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि आलमको नाम सिफारिस गरेको हो ।कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताका अनुसार आलमको नाम रौतहट– २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारका रूपमा सिफारिस गरिएको हो ।
आलम विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।
यसअघि रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका आलम बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् ।
२०६४ को संविधानसभा निर्वाचनको अघिल्लो दिन २७ चैतमा शेख इद्रिसको घरमा बम विस्फोट घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाइएको आरोप छ । उक्त घटनामा सरुअठाका २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको ज्यान गएको थियो ।