काठमाडौं। सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो। बैठक अहिले जारी छ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय सम्भवतः आजै टुङ्गिने राष्ट्रिय जनमोर्चाका सचिव हेमलाल पुरीले बताए।
यसअघि बुधबार बसेको बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुगेका थिए।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटको विषयमा निरन्तर छलफल गरिरहेका छन्।