काठमाडौँ । सत्तारुढ गठबन्धनको आज बसेको बैठकमा मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँटका बिषयमा सहमति हुन सकेन।
साँझ बसेको शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटको विषयमा सहमति नभएपछि बिहीबार पुनः बस्ने गरी बैठक सकिएको हो।
बुधबार कार्यदलका सदस्यहरुलाई तयारी अवस्थामा राखेर शीर्ष नेताहरु छलफलमा जुटे पनि कुनै पनि दलले दाबी नछोडेपछि नेताहरु उसै उठेका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार आजको बैठकमा कुनै पनि दलका नेताहरु आ-आफ्नो दाबीबाट दायाँबायाँ भएनन्।
चुनावी तालमेल गर्दा आफूहरुले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ। माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका थिए।
आज सहमति गर्ने भनिएपछि कांग्रेसले बिहान पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेको थियो। छलफलमा सहभागी अधिकांश नेताहरुले १०० बाट एक सिट पनि घट्न नहुने धारणा राखेका थिए। कांग्रेसले आफ्नो अडान नछोडेपछि अरु दलहरुले पनि दावी नछोडेका हुन्।