सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका–१० नयाँबस्तीमा सोमबार बेलुकी साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।
घाइते हुनेहरुमा २१ वर्षीया अमृता बबाल र उनका ४ वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन, चालक र अर्का एक जना घाइतेको सनाखत सकेको छैन ।
दुर्घटनामा परी घाइते भएकालाई उद्धार गरेर जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । घाइते पाँच जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।