नयाँदिल्ली । भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय गृहमन्त्री अमित शाहसँग शिष्टाचार भेट गरेका छन् । सोमबार नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालय पुगेर राजदूत शर्माले भेट गरेका हुन् ।
शाहसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे चर्चा भएको दूतावास स्रोतले जनाएको छ । भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति र नेपाल-भारत मामिलामा थाती रहेका विषयहरू छिटो टुंग्याउनेबारे पनि छलफल भएको दूतावासले जनाएको छ । गृहमन्त्री शाह भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेतासमेत हुन् ।
गत वैशाख २८ गते राजदूत शर्माले तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका थिए । राजदूत शर्माले त्यसयता भारत सरकारका विभिन्न विभागीय मन्त्रीहरूलाई भेटेका छन् ।
विदेशमन्त्री एस जयंशकरसँग अनौपचारिक रूपमा र अन्य मन्त्रीहरूसँग औपचारिक भेटघाट गरेका छन् । तिनमा अर्थमन्त्री निर्मला सीतारमण, सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरी, जलशक्तिमन्त्री गजेन्द्रसिंह शेखावतलगायत छन् । त्यस्तै उनले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेसँग पनि भेटघाट गरेका थिए ।