काठमाडौँ । वीरगन्जबाट पैदल यात्रा गरेर भारतको राजधानी दिल्ली पुगेका वीरगन्जका युवक शेख मुन्नालाई दिल्ली स्थित नेपाली राजदूतावासले स्वागत र सम्मान गरेको छ ।
वीरगन्जबाट दिल्ली सम्मको १ हजार ६० किलो मिटरको दुरी २२ औँ दिनमा पुरा गरेर शनिवार दिल्ली पुगेका वीरगन्ज २ का युवा शेख मुन्नालाई आइतबार दिल्ली स्थित नेपाली दूतावासले सम्मान गरेको हो ।
आइतबार बिहान दिल्ली स्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा नेपाली राजदूतावासका नियोग प्रमुख राम प्रसाद सुबेदी , राजनीतिक कन्सुलर आनन्द शर्मा र सांस्कृतिक कन्सुलर यदुनाथ पोख्रेलले शेख मुन्नालाई नेपाली ढाका टोपी र खादा लगाएर बधाई दिँदै सम्मानित गरेका हुन् ।
शेख मुन्नालाई नेपाली राजदूतावासका तर्फबाट सम्मानित गर्दै नियोग उपप्रमुख सुबेदीले नेपाल र भारत बिचको सम्बन्धमा मधुरता , प्रगाढता थप्न र दुई देशको सम्बन्ध थप मजबुत पार्न शेख मुन्नाको चुनौतीपूर्ण पैदल यात्राले गहिरो सन्देश प्रवाह गरेको बताए ।
यस्तै राजदूतावासका राजनीतिक कन्सुलर शर्माले पनि शेख मुन्नाको यो साहसिक कार्यले नेपाल र भारत बिचको सम्बन्धलाई थप सुदृढ बनाउन र जनमानसमा राम्रो सन्देश प्रवाह गर्ने बताए ।
नेपाललाई विश्वमा चिनाउन र नेपाल भारत बिचको सम्बन्धलाई थप मजबुत बनाउन भन्दै गत साउन २२ गते देखि वीरगन्जबाट पैदल यात्रा थालेका वीरगन्ज महानगरपालिका वडा नम्बर २ का शेख मुन्ना २२ औँ दिनमा शनिवार दिल्लीको इन्डिया गेट पुगेका थिए ।