काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकारहरू सम्मेलनमार्फत उनले लामो समयदेखि तालाबन्दी भइरहेको र यसले समस्या पारेको बताएका थिए ।
भित्र उनले पत्रकार सम्मेलन आयोजना गर्दै गर्दा बाहिर भने नेविसंघले नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्ने प्रयास गरेको थियो । नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्न खोज्ने नेविसंघका नेता कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने योगेन्द्र रावलको टोलीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गरेको थियो । त्यही क्रममा दुई पक्षबीच झडप भएको हो ।
झडपको क्रममा नेविसंघ नेता भुवन जोशी, किशोर भण्डारी लगायत दर्जन बढी नेता(कार्यकर्ता घाइते भएका छन् । भने केही प्रहरी समेत घाइते भएका छन् । नेविसंघले भने प्रदर्शन गर्दै हुबहु प्रश्न पत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको थियो । त्यही क्रममा विवाद हुँदै झडपको अवस्था सिर्जना भएको हो ।
नेविसंघले उपकुलपति बाँस्कोटाको राजीनामा माग गरेका छन् । आफूहरूमाथि कुटपिट गर्न भाडाका गुन्डा ल्याएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
यता अनेरास्ववियू भने पत्रकार सम्मेलन बिथोल्न खोजिएको र आफूमाथि नै जाइ लागेको आरोप लगाएको छ । नेविसंघले बाँस्कोटालाई बर्खास्त नगरुन्जेल सम्म अनिश्चितकालीन विश्वविद्यालय आमहड्ताल गर्ने चेतावनी दिएको छ ।