धनगढी । रगतको चरम अभाव हुने धनगढीमा बैतडी समाज कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो वार्षिक कार्यक्रमअनुसार गरिएको रक्तादान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् ।
समाजका अध्यक्ष मायाप्रकाश भट्टले ८५ जनाले रक्तदान गरेको जानकारी दिए । बैतडी समाजले हरेक वर्षमा दुई पटक रक्तदान र स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।
आफ्नो वार्षिक कार्यक्रमअनुसार समाजले शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको पद्मा नर्सिङ कलेजको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको धनगढी उपमहानरपालिकामा नगर प्रमुख गोपाल हमाल र समाजका अध्यक्ष मायाप्रकाश भट्टले संयुक्त रुपमा सुभारम्भ गरेका थिए ।
बैतडी समाजले यसपालि सोही स्थानमा निशुल्क स्वास्थ्य शिविर, निशुल्क आँखा जाँच शिविर र निशुल्क दन्तसेवा शिविर पनि सञ्चालन गरेका छ ।
धनगढी नेत्रालयको सहयोगमा गरिएको निशुल्क आँखा जाँच शिविरमा तीन सय १८ जनाले सेवा लिएका छन् । उनीहरुलाई निःशुल्क चस्मा र औषधी वितरण गरिएको थियो । त्यस्तै सारथी अस्पताल प्रालिको सहयोगमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा एक सय ५५ जनाले सेवा लिएका छन् । त्यसमा फिजिसियन चिकित्सकद्वारा चेकजाँच, ब्लडसुगर जाँच र एक महिनासम्मको औषधी निशुल्क प्रदान गरिएको थियो ।
त्यस्तै समृद्धि डेण्टलको प्रायोजनमा चिकित्सकद्वय डा. सन्तोष पाण्डे र डा. बिमल थापाले दाँतको परिक्षण गरेका थिए । त्यसमा ७७ जनाले दाँतको सेवा लिएका समाजका अध्यक्ष भट्टले जानकारी दिए । बैतडी समाजले यसअघि बैतडी जिल्लाको पाटनमा बृहत निशुल्क स्वास्थ्य शिविर पनि गरिसकेको छ ।