रुपन्देही। प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्।
शनिबार प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत सहभागी छन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता भएको थियो।
थप भएको म्याद अगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए। बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ। यो सभाहल एक हजार सीट क्षमताको छ।
सम्मेलन केन्द्र सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा निर्माण भएको हो।