काठमाडौँ । नेपाली कांग्रेसले आसन्न मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ।
कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार परिपत्र जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मातहतका निकायलाई भदौ २० गतेसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिएका हुन् ।
एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उमेदवारका विषयमा बढीमा तीन जना र समानुपातिकतर्फको लागि कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरी २०७९ भाद्र १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने हुन्छ ।
जिल्ला कार्यसमितिले भने क्षेत्रबाट आएको सिफारिसमा आफ्नो राय समेटेर भाद्र १८ गतेभित्र प्रदेश कार्यसमितिमा नाम पठाउनुपर्ने हुन्छ । यता, एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भदौ १८ गते जिल्लाले प्रदेश र २० गते प्रदेशले केन्द्रमा उमेदवार सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।



