बझाङ । एनआईसी एशिया बैंक बझाङमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका –११ पिठालेक घर भएका वर्ष ५२ का रोहित थापा रहेका छन् । उनी सोही बैंकमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।
मृतक थापाका आफन्त रतन थापाका अनुसार उनी भदौ ३ गतेदेखि कसैको सम्पर्कमा थिएनन् । तर, बुधबार जिल्लाको केदारस्युँ गाउँपालिका १ को चौडाम बगरनजिकै सेती नदीमा उनी मृत अवस्थामा फेला परेका थिए।
थापा करिब ३ वर्षदेखि एनआईसी एसिया बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन् । भदौ ३ गते साँझ ६ बजेपछि अफिसबाट बिदा भएपछि उनी सम्पर्कविहीन भएको बुझिएको छ।
बिहीबार मृतक थापाका आफन्तले बैंकविरुद्ध नारा लगाउँदै बेपत्ता भएको एक हप्तासम्म पनि आफूहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैंकमा ढंगामुढा गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी जागेश्वर भण्डारीले बताए ।