नवलपरासी । सामसङ ब्रान्डको एलईडी टीभी अब नेपालमै बन्ने भएको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गतको हिम इलेक्ट्रोनिक्स र सामसङको सहकार्यमा सामसङ एलईडी टीभी नेपालमै एसेम्बल गर्न लागिएको हो ।
त्यसका लागि पश्चिम नवलपरासीको भूमहीमा उद्योगको स्थापना गरिने भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कले उद्योगको शिलान्यास गरे ।
कार्यक्रममा मन्त्री बडूले नेपाल सामसङका उत्पादनको ठूलो आयातकर्ता भएको बताउँदै नेपालमा थप लगानी गर्न आग्रह गरे ।
सामसङका लागि दक्षिण पश्चिम एसिया हेर्ने क्षेत्रीय अध्यक्ष एवं सीईओ केन काङले टीभी एसेम्बलिङले नेपालमा रोजगारीसँगै लगानीको पनि अवसर खुला हुने बताए ।
गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले एसेम्बल उद्योगको स्थापनाले नेपालमा उद्योगधन्दाको विकाससँगै दक्षता र उत्पादकत्वमा वृद्धि हुने आशा व्यक्त गरे । उनले करिब तीन दशकको बिक्रीवितरणको अनुभवलाई भरपूर सदुपयोग गर्ने उल्लेख गर्दै टीभीसँगै अन्य उपकरणहरू पनि एसेम्बल गर्दै जाने बताए ।
हिम इलेक्ट्रोनिक्स नेपालका लागि सामसङको आधिकारिक डिलरका रूपमा रहँदै आएको छ । गोल्छाका अनुसार टीभी एसेम्बलमा लगानी हिम इलेक्ट्रोनिक्सको हुनेछ ।
सामसङले प्राविधिक साझेदारी मात्रै गर्नेछ । प्रतिदिन १ हजार टीभी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।