डडेल्धुरा । डडेल्धुरामा मलामी गएका एक पुरुष सेती नदीमा बेपत्ता भएका छन्। अमरगढी नगरपालिका–९ पनौलीका ५० वर्षीय चेतबहादुर साउँद डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बेपत्ता भएका हुन्।
बेपत्ता साउँदको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए। अहिले त्यहाँ सशस्त्रको टोली खटिएको छ।
उनी जिल्लाको अमरगढी नगरपालिका–१० मा रहेको सहश्रलिंग माविमा कार्यरत लेखापाल भक्तबहादुर साउँदको मलामी गएका थिए। लेखापाल साउँदको बुधवार विद्यालयमै निधन भएको थियो। बिहान विद्यालय पुगेपछि अचानक रिँगटा लागेर ढलेका ३० वर्षीय लेखापाल साउँदको अस्पताल नपुगाउँदै निधन भएको थियो।