काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बुधबार बिहान प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका थिए। भेटवार्तामा भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक, संक्रमणकालीन न्यायका विषय, मूल्यबृद्धिबारे छलफल भएको बुझिएको छ।
ओलीले विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए। ओलीले प्रतिस्पर्धाको राजनीतिलाई अन्यथा नमानी प्रतिपक्ष दलमाथि निषेधको राजनीति गर्न नहुने बताएको नेम्वाङले बताए।
प्रधानमन्त्री देउवासँग अध्यक्ष ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी प्रतिनिधिसभामा पेश गरिएको विधेयक, राष्ट्रपतिले सन्देशसहित संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास गरिएको विषयमा प्रतिपक्ष दलसँग छलफल नभएकोमा ध्यानाकर्षण गराएको उपाध्यक्ष नेम्वाङले जानकारी दिए।
अध्यक्ष ओलीले जताततै भ्रष्टाचार बढ्दै जाँदा मंहगीले जनता मारमा परेकोले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने सुझाव दिए।
यसैगरी, अध्यक्ष ओलीले मङ्सिर ४ गते हुने निर्वाचन भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न वातावरण बनाउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीले उठाएको विषयहरूलाई आफूले सकारात्मक रुपमा लिएको र सत्ता गठबन्धनमा पनि त्यसबारे छलफल गर्ने बताए।
कानुन निर्माणका साथै दिर्घकालीन महत्वका निर्णयहरु प्रतिपक्षी दलसँग सल्लाह नगरी सरकारले एकलौटी निर्णय गरिरहेको एमालेको आरोप छ।