कास्की । पोखरा महानगरपालिका भित्र रहेका भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण सुरु भएको छ । वडा नम्बर २५ को क्रान्तिटोलबाट निस्सा वितरण सुरु गरिएको हो ।
त्यहाँका २ सय ४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले निस्सा पाएका पोखरा महानगरपालिकाले जनाएको छ । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखराका मेयर धनराज आचार्यले उनीहरुलाई निस्सा वितरण गर्दै छिट्टै जग्गाको टुंगो लाग्ने बताए ।
विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु खटिएको उनले बताए । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को ठाउँमा उचित ब्यवस्थापन गरिने उनको भनाइ छ ।
मेयर आचार्यले स्थानीय तहको निर्वाचनमा भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता अनुसार काम सुरु भएको बताए ।पोखरा महानगरपालिमा १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन संकलन गरिएको जिल्ला समिति कास्कीले जनाएको छ ।
चुनावका बेला आचार्यले सुकुम्बासीलाई बहुतले घर बनाएर व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका थिए । कास्की जिल्लाभर ३० हजारको हाराहारीमा भूमिहीन सुकुम्बासीहरुको बसोबास रहेको अनुमान छ ।