काठमाडौँ । आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको हो।
कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी(आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि बिनासहमति टुंगिएको हो।कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोलि अपराह्न पाँच बजे बस्ने गरी सकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।
उनले २०७४ सालको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाई समेत आधार बनाएर सिट बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको र भदौ ९ गते बिहीबारभित्र त्यसलाई टुंगोमा पुर्याउने गरी गठबन्धनमा आवद्ध दलका नेताहरुबीच छलफल भइरहेको बताए।
सत्तारुढ दलहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल बनाएका छन्। तर, कार्यदलका संयोजक सिटौला बिरामी भएका कारण आजको बैठकमा उपस्थित हुन सकेनन्।